काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको तीन दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशन आज सम्पन्न भएको छ । यही असार १० गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त विधान अधिवेशन जारी रहेको थियो ।
विधान अधिवेशनबाट विधान प्रमाणीकरणका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेन्द्र झा रहेको विधान प्रमाणीकरण समिति बनाइएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार विधान अधिवेशनमा उठेका विषय र समूहले निकालेका निष्कर्षका विषयलाई समावेश गरी विधानलाई अन्तिम रूप दिइने छ । प्रमाणीकरण समितिले विधान प्रमाणीकरण गरेसँगै उक्त विधान लागु हुने जनाइएको छ ।
विधान अधिवेशनमा पार्टीको झण्डा फेर्नुपर्ने, ७० वर्षको उमेर हद राख्न नहुनेजस्ता विषय उठेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।