भनिन्छ, राज्य सञ्चालन प्रक्रियाको सुरुवातसँगै निजामती सेवाको गठन गरिएको पाइन्छ तापनि नेपालको विद्यमान निजामती सेवाको सुरुवात विन्दुमा पुग्न धेरै अगाडि जानु पर्दैन । वि.सं. २०१३ सालको निजामती सेवा ऐन र निजामती सेवा नियमावली २०१३ जारी भएपछि निजामती सेवाले कानुनी आधार र आकारमा अगाडि बढ्ने अवसर प्राप्त ग¥यो । अहिले हामी सोही निजामती सेवा ऐन जारी भएको दिन भाद्र २२ गतेको दिनको स्मरणमा निजामती सेवा दिवस मनाउन गइरहेका छौँ । वि.सं. २०६१ सालदेखि पूर्व मुख्य सचिव श्री विमल कोइरालाको कार्यकालमा यो दिवस मनाउन सुरु गरिएको हो र आज हामी वि.सं.२०८० को निजामती सेवा दिवसको सँघारमा आइपुगेका छौँ । निजामती सेवा दिवस मूल समारोह समिति (२०८० भाद्र २२) लाई विभिन्न कार्यक्रम, गोष्ठी, सभा, बैठक, खेलकुद, पुरस्कार छनौट लगायत विभिन्न कार्यक्रम सम्पन्न गर्ने चटारो परेको छ ।
यो वर्ष पनि विगतका वर्ष झैँ “व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ यो दिवस मनाउन गइरहेका छौँ । विधिवत् रूपमा स्थापना भएको ६७ वर्ष पुगिसक्दा पनि सरकारको नीति कार्यान्वयन गर्ने र प्रत्यक्ष जनतासँग जोडिने यो संस्था ऊर्जाशील, व्यावसायिक र पारदर्शी हुन नसकेको र बढी प्रक्रियामुखी रहेको गुनासो आम जनताको छ । निजामती सेवा भित्र व्यावसायिकता र सदाचारिता प्रवर्द्धनका लागि ठोस र पर्याप्त कार्यक्रम ल्याई लागू गर्न नसकेको भन्ने गुनासो कर्मचारी वृत्तमा पनि रहेको छ । यसले गर्दा सेवा प्रवाह छिटो, छरितो, सरल, सहज, पारदर्शी हुन नसकेको हुँदा सेवाग्राही मर्कामा परेको विषय बारम्बार उठ्ने गरेको छ । व्यावसायिकता प्रवर्द्धन र सुशासन कायम गर्न चालिएका कदमहरू अपर्याप्त नै रहेको कुरा सबैले मनन गरेको विषय हो । पूर्णरुपमा प्रविधिमैत्री शासन सञ्चालन हुन नसकेको विषय घाम जस्तै छर्लङ्ग छ । बिस्तारै केही प्रयत्नहरू भएको पनि छन् र तिनको कार्यान्वयनबाट सकारात्मक बाछिटाहरू आउनु शुरु भएको छ तापनि पर्याप्त छैन र प्रविधि प्रतिको अवरोध कायमै छ ।
निजामती सेवा दिवस भाद्र २२ को सँघारमा आउँदै गर्दा कुनै पनि कार्यालयले नवप्रवर्तनका लागि कुनै न कुनै कार्य गर्ने सृजनशील हुने विषयले सञ्चार माध्यममा आफ्नो ठाउँ बनाएका छन् । जे जस्तो नवप्रवर्तन भने पनि गुणस्तरीय सेवा पाउने नागरिकको हक अपेक्षितरुपमा पूरा हुन सकेको छैन । कर्तव्य बोध भन्दा सुविधा भोगी प्रवृत्ति कर्मचारीमा बढ्दै गइरहेको आरोप आम कर्मचारीमा लागेको छ ।
आम कर्मचारीमा सुविधा भोगी प्रवृत्ति बढ्दै गएको कर्तव्य बोध कम भएको भन्ने गुनासो व्याप्त छ तापनि विशेष गरी निजामती सेवा भित्र निर्णय तहमा नै यस्तो प्रवृत्ति बढ्दो छ भन्दा अत्युक्ति नहोला । बढ्दो विदेश मोह, (उपलब्धि र प्रयोग शून्य प्राय छ) पटक पटक विदेश धाइरहने र आकर्षक एवं शक्तिको तुलनात्मक रूपमा बढी प्रयोग गर्न सकिने मन्त्रालयमा जान शक्ति केन्द्र धाइरहने र राजनीतिक नेतृत्वसँग लम्पसार पर्ने प्रवृत्ति सबैले देखेकै र सुनेकै हुनुपर्दछ । राम्रा राम्रा गहन भाव ओगट्ने शब्द चयन गरी बैठकमा माइन्यूट गर्ने चाहे त्यो सचिव बैठक होस चाहे त्यो आ-आफ्नै निकायको सिनियर म्यानेजमेन्ट टिम(एसएमटी) को बैठक होस् चाहे त्यो नियमनकारी निकायका गोष्ठी सेमिनार नै किन नहुन तर कार्यान्वयन नगर्ने, कार्यान्वयन त्यसको ठिक उल्टो गर्ने र शाखा प्रमुख सम्मका कर्मचारीलाई मिलाएर लेख्नुस्, मिलाएर पठाउनुस् भनी दबाब र तनाव दिने उच्च पदस्थ कर्मचारीको कमी छैन यहाँ । उदाहरणका लागि गाडी मोह, तुलनात्मक रूपमा बढी मूल्य पर्ने सुविधायुक्त गाडी चढेको छ भने सरुवा भएर जाँदा समेत गाडी नछोड्ने । २/३ वटा गाडी समेत एक व्यक्तिले होल्ड गर्ने प्रवृत्तिको यहाँ कमी छैन । सरकारी सम्पत्तिबाट खरिद गरेका गाडी रातो प्लेट नम्बरमा गुडाउनेको अझै कमी छैन यहाँ । भनेको मान्ने प्रवृत्तिका आफ्नो पकडमा राखेका सवारी चालक कुनै कार्यालयमा आफू बस्दा रहेमा जतासुकै बोकेर हिँड्ने, सवारी चालकको समेत तलब भत्ता खाने गरी सुविधा लिएर दरबन्दीकै सवारी चालक प्रयोग गरिरहनेको पनि कमी छैन यहाँ । यसले कतिपय ठाउँमा प्रशासनिक जटिलता, द्धन्द समेत पैदा भएको छ र अस्वस्थ प्रतिस्पर्धा पैदा भएको छ, ।
अर्कोतिर सवारी चालकहरू विद्युतीय सवारी साधन खरिद गरी कार्यालयले चलाउन खोज्दा सवारी साधन चलाउन नमानेको विषय पनि हामीले सुनेका छौ, आखिर किन ? सवारी चालकको काम के हो ? कुरा घाम जतिकै छर्लङ्ग छ । कतिपयले राम्रो ल्यापटप समेत बोक्ने (बरबुझारथ नगरी हिँड्ने) विषय त सामान्य नै भई हाल्यो । जिन्सी तथा प्रशासन शाखाबाट बरबुझारथको कुरा ग¥यो भने मिलाउनुस्, म कहाँ जानेहोर? फर्किहाल्छ नि सामान भनी बोकेर हिँड्ने र सेवा निवृत्त हुँदा पनि नफर्काउने हुँदा सम्बन्धित निकायबाट पटक पटक पत्राचार गर्नुपर्ने पात्रहरूको कमी छैन यहाँ । आफैँ निर्णय गर्ने आफैँ मातहतका निकायमा पठाउने र आफै मूल धमिल्याउने पात्रको पनि कमी छैन । हुन त सार्वजनिक सम्पत्ति सार्वजनिक पदाधिकारीकै लागि उपयोग÷प्रयोग गर्न नियमानुसारको व्यवस्था छ । पदीय मर्यादा अनुरूप तोकिएका छन् तापनि अधिकारको प्रयोग गर्ने, सम्बन्धमा पनि त विधि र प्रक्रिया छन् ।
विधि र प्रक्रिया समेत उलङ्घन गरेर हिँड्ने प्रवृत्तिको कमी छैन यहाँ । राष्ट्र सेवक भएर यस्ता गलत प्रवृत्तिको उजागर गर्दा म आफैँलाई लाज लाग्छ । यस्ता गलत व्यवहारले व्यक्तिको कार्यसम्पादनमा कति बढोत्तरी भएको छ ? के फरकपन आएको छ ? सबैले सोच्नु पर्ने होइन र ? यही प्रवृत्तिलाई उजागर गरेका कारण आँखाको तारो हुनुपर्ने हो कि भन्ने डर लाग्दा लाग्दै कैयौँ पटक मैले आफ्नो लेखनसीप तथा सिर्जनालाई कुठाराघात गरेकी छु । सेवाभित्रै रहेर पनि लेख रचना प्रकाशित गर्ने रहरले केही कोर्ने तर त्यसै मिल्काउने गर्दा गर्दै आज यो लेख मार्फत श्रीमान् मुख्य सचिवज्यू लाई ध्यानाकर्षण गराउने जमर्को गरेकी छु । गलत पात्र र प्रवृत्तिको उजागर गर्नु अपराध हो भन्ने लागेको पनि छैन श्रीमान् मुख्य सचिव ज्यू, ।
हाम्रो प्रचलित उखान “मूल सङ्लो भए मात्र खोला सङ्लो हुन्छ” भन्ने कुरा सम्पूर्ण कर्मचारी वर्गमा चरितार्थ छ । गलत प्रवृत्ति र भावना त्याग्न सबैले ‘मम’ भनेर सकंल्प नगरे सम्म निजामती सेवा दिवसको नारा सार्थक हुन सक्दैन । कार्यान्वयन तहमा बस्ने कर्मचारीलाई बिचरा बनाइएको छ । कर्मचारीतन्त्रको मूल विशेषता “पद सोपानमा’ आधारित भएको हुँदा उच्च तहको आदेश र निर्देशनको पालना गर्दा आदेश पालक स्वयम सजायको भागिदार हुनुपर्ने परिस्थिति जगजाहेरै छ । आज निजामती सेवा चौतर्फी घेराबन्दीमा छ । सेवा प्रवाह गुणस्तरीय नहुनुमा सबै मन्त्री, प्रधानमन्त्रीले कर्मचारीलाई नै दोष लगाइरहेका छन् । आम नागरिक पनि कर्मचारीप्रति सकारात्मक छैनन् । यस्तो कठिन परिस्थितिमा हामी स्वयम नसच्चिने हो भने राष्ट्रप्रति कसरी न्याय होला र । स्थायी विशिष्ट र व्यावसायिक क्षेत्रले जिम्मेवार भएर फरक प्रस्तुति दिन सधैँ प्रयत्नशील हुने प्रण गर्नु आजको आवश्यकता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माननीय मन्त्रीज्यू सहित वा कहिले रहित श्रीमान् सचिवज्यूहरूको बैठक बस्ने गर्छ र राष्ट्रिय नीति कार्यक्रम तथा प्रगति सम्बन्धमा छलफल हुन्छ । सरकारका विभिन्न निर्देशनहरू पनि सम्माननीय प्रधानमन्त्रीज्यू तथा श्रीमान् मुख्य सचिवज्यूबाट निर्देशित हुन्छन् । तर साँच्चै छातीमा हात राखेर आचरण र अनुशासन पारदर्शिता र सृजनशीलतामा आफूले रोल मोड्यूल भएर के देखाउनु भएको छ ? रोल मोड्यूल हुन नसके पनि विधि प्रक्रिया, ऐन नियम सङ्गत कार्य गर्नु भएको छ ? सोध्नुपर्ने वेला आएको छ ।
त्यसैगरी निजामती सेवाभित्र प्रशंसा, पुरस्कार, सेवा सुविधा वितरणमा पनि अत्यन्त दयनीय अवस्था छ । कुनै कर्मचारीले पटक पटक विदेश सयर गरिरहँदा कुनै कर्मचारीले पासपोर्ट नै नबनाई सेवा निवृत्त हुनु पर्ने अवस्था छ । त्यसमाथि अझैँ महिला कर्मचारी भएमा त भेदभावको सीमा नै छैन । महिलाको निष्पक्षता, शालीनता र नियमानुसार काम गर्ने प्रवृत्तिलाई कमजोरीका रूपमा हेरिन्छ । महत्त्वपूर्ण जिम्मेवारी दिन कन्जुस्याइँ गर्ने, महिला कर्मचारी शाखा प्रमुख भएको शाखाको काम अर्कै आफू अनुकूल पुरुष कर्मचारीलाई सुम्पने प्रवृत्तिको कमी छैन यहाँ । कुनै बैठक, छलफल भएमा महिला कर्मचारीलाई थाहै नदिने, समावेश नगराउने, कही कतै समावेश भएमा उनका विचार, भावना र मतको सम्मान नगर्ने प्रवृत्ति झन् कहालीलाग्दो छ ।
महिला कर्मचारीहरूको चाहे नयाँ पदस्थापन होस् चाहे सरुवा, सुरुमै सम्बन्धित मन्त्रालयका उच्चपदस्थको वाणी वर्षा भई हाल्छ, “तपाईँहरूलाई सिंहदरबार नै चाहिने होला हैन ?” नचाहिएर पनि के गर्नु महिला कर्मचारीले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवन सन्तुलित बनाएर अगाडि बढ्न निकै चुनौतीपूर्ण अवस्था छ । भविष्यका, देशका, असल, सभ्य, शिक्षित कर्णधार निर्माणदेखि ज्येष्ठ नागरिक हेरचाह सबै महिलाकै जिम्मेवारीमा छन् । राज्यले सम्पूर्ण ध्यान लगाउनु पर्ने वर्ग विशेषमा महिलाको एकल जिम्मेवारी रहेको छ । यो सबै बिर्सनु, बिगार्नु, अलपत्र पारेर पेसा व्यवसायमा होमिनु महिलाका लागि फलामको चिउरा चपाउनु जतिकै छ ।
यो केवल महिलाको मात्र न भई राष्ट्रकै समस्या हो यस्तो संवेदनशील वर्गको महत्त्वपूर्ण जिम्मेवारी महिलाले निर्वाह गरेका छन् भन्ने सोच विकास हुन सकेकै छैन । यो सद्बुद्धि निर्णय तहमा बस्ने बुझरुक विद्धान महोदयमा कहिले आउला ? अझ भनौँ, केही महिला कर्मचारी आफ्नो प्रतिकूल परिस्थितिका बाबजुद पनि की रोल भएको जिम्मेवारी दिनुस् भनेर निर्णय तहमा अनुरोध गर्न गए भने विभिन्न बहाना बनाएर नदिने र महिनौँ निर्णय नगरिदिने, फाइल महिनौँ राखेर फर्काउने जस्ता अमर्यादित कार्यले डिप्रेसनको बाटोमा धकेलिन बाध्य हुनुपर्ने, जस्तो विषय ओकल्नु मात्र नसकेका भोगाई धेरै महिला कर्मचारीसङ छन् । निर्णयकर्ता कतिले त सायद यो लेख हेर्नुभयो भने सम्झिनु पनि होला र कति निर्णयकर्ताले महिला कर्मचारी प्रति गरेको अमर्यादित व्यवहार सम्झेर पछुताउनु पनि होला । हुन त नबुझ्ने लाई बुझाउन सजिलो हुन्छ तर बुझेर बुझ पचाउनेलाई बुझाउन गाह्रो हुन्छ रे । त्यसैले आफै यस विषयमा विश्वस्त हुन पनि सकेकी छैन ।
आजभोलि निर्णय तहमा महिलाको सङ्ख्या बढ्दै गइरहेको छ । हालै पनि जो निर्णय तहमा हुनुहुन्छ उहाँहरू निर्णय तहमा पुगे पनि पुरुष मानसिकताबाट टाढा जान सक्नु भएको छैन । पुरुषकै आड भरोसा गरे मात्र म सफल हुन्छु भन्ने सोचको कार्यशैली छ । उहाँहरू पनि सच्चिन जरुरी छ । हिम्मत र आँटका साथ कुशल निर्णयकर्ता भई सफल नेतृत्व निर्वाह गर्न जरुरी देखिएको छ । यसका लागि राज्यको सकारात्मक सहयोग आवश्यक छ । उहाँहरूले (पुरुष महिला दुवैले) महिलाको यो विशेष र फरक संवेदना र आवश्यकलाई बुझ्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।
सरल र सहज वाक्य र भाषा शैलीको प्रयोगबाट पोखिएका यी तिता यथार्थले सम्पूर्ण निजामती सेवा भन्दा पनि यो भित्र रहेका केही पात्र र प्रवृत्तिको उजागर गर्ने प्रयत्न गरिएको हो । सिङ्गो निजामती सेवा, सबै निर्णय तहमा बस्ने अधिकारीहरूले वर्णन गरेजस्तो गलत प्रवृत्ति बोकेका छन्, भन्न खोजिएको होइन । इमानदार÷कर्तव्यनिष्ठ र अनुशासित कर्मचारीहरूको पनि कमी छैन । तर अधिकांश निर्णयकर्ताको सोच र कार्यशैली “देखाउने र चपाउने दाँत फरक” भने झैँ देखिन्छ । यसले देशको समृद्धि, सुशासन र विकास सम्भव छ र ? हो, देशको सुशासन र समृद्धिका लागि निजामती सेवा र यसका कर्मचारी मात्र एक्लै दोषी छैनन् । यसमा धेरै वर्ग, क्षेत्र, आयाम जिम्मेवार छन् । सुधार र परिमार्जन, पारदर्शिता र अनुशासन विधिसम्वत् कार्य प्रणाली सबै क्षेत्र तथा आयाम आवश्यक छ ।
माथि वर्णन गरिएको सामान्य विषय के महत्त्वपूर्ण छन् र ? पाठकलाई लाग्न सक्छ । सुन छोडेर यस्तो विषयवस्तु उजागर गर्न के आवश्यक छ भन्ने पनि लाग्न सक्छ तर पोखिएका यी तिता यथार्थका केही उदाहरण प्रतिकात्मक मात्र हुन् । सुन सँग जोडिनेले सुनकै कुरा गर्लान् तर नुन सँग जोडिएकी म “नुनको सोझो भन्छन् नि” नुनकै कुरा गर्दै छु । सोच्नेले जे जसरी सोचे पनि मलाई साना साना सुधारले ठुलो सुधारको बाटो तय गर्छ भन्ने लागेको छ फेरी यो अनुभवको पोखाई निजामती सेवाका लागि मात्र सीमित छन् । यस क्षेत्रमा जस्तै अन्य क्षेत्रमा पनि सुधार गर्नुपर्ने विषय मनग्ये छन् । अतः वर्णन गरेजस्तो कटु प्रवृत्ति बोक्ने पात्रको शुद्धीकरण हुन नसकेमा सम्पूर्ण निजामती सेवाले नै कलङ्कको टिका लगाउनु पर्ने उच्च जोखिमबाट बच्न बेलैमा सतर्क हुन जरुरी छ ।
सुधारका लागि सानो सानो सुधारको कुरा गरौँ र ती कामबाट पुरा गरौँ, टिम वर्कमा विश्वास गरौँ, आफैबाट शुरु गरौँ, आफ्नो टिम परिचालन गरौँ, पूरा गर्न नसक्ने ठुला कुरा गर्दै नगरौँ, ठूलाकुरा पूरा गर्न सक्ने वातावरण तयार गरी ठुला काम गरौँ । माथि उठाइएका साना तर महत्त्वपूर्ण अर्थ राख्ने विषय मात्र भए पनि सकारात्मक सम्बोधन गर्ने सङ्कल्प यो निजामती सेवा दिवसमा गर्न सके मात्र यो दिवसको सार्थकता सिद्ध हुनेछ । जय सेवाग्राही, जय निजामती सेवा, जय देश ।







