काठमाडौँ । सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि कर्णसहित तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो।
समितिले योग्यताक्रममा आभा श्रेष्ठ कर्णलाई पहिलो, चक्रबहादुर बुढालाई दोस्रो र जयनारायण आचार्यलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको थियो।
प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्येबाट सरकारले एक जनालाई सचिवमा बढुवा गर्ने व्यवस्था छ। सोहीअनुसार मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएकी कर्णलाई सचिवमा बढुवा गरेको हो।
कर्ण २०७१ सालमा सहसचिव बनेकी हुन्। हाल मधेश प्रदेशमा कार्यरत कर्ण सचिव बढुवाका लागि यसअघि पनि सिफारिसमा पर्दै आएकी थिइन्। उनको पदस्थापन भने टुंगिएको छैन ।



