काठमाडौँ । भारतको केन्द्र सरकारले बिहीबार अश्लील सामग्री प्रसारण गरेको भन्दै १८ ओटीटी प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको छ । यससँगै १९ वेबसाइट, १० एप र ५७ सामाजिक सञ्जालका ह्याण्डललाई पनि रोक लगाइएको छ ।
यी एप्स, ओटीटी प्लेटफर्म र सोसल मिडिया प्लेटफर्मले मनोरञ्जनको नाममा अश्लील र आपत्तिजनक भिडियो प्रस्तुत गर्दै आएको सरकारको दाबी छ । यी ओटीटी एपलाई धेरै पटक चेतावनी दिइएपनि सामग्रीमा सुधार नगरिएको सरकारको भनाइ छ ।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयको १२ मार्चमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार यी एपको सूची सार्वजनिक गर्दै सरकारले उनीहरूको सामग्रीमा अश्लीलता रहेको बताएको छ ।
महिलालाई अपमानजनक रूपमा प्रस्तुत गरिएको, विद्यार्थी तथा शिक्षकबीचको सम्बन्ध र पारिवारिक सम्बन्धलाई पनि गलतरुपमा चित्रण गरिएको सरकारको भनाइ छ । सूची हेर्दा रोक लगाइएका प्लेटफर्ममा अधिकांश एडल्ट साइट छन् ।







