काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थिरता दिन र विकास गर्न नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले देश अप्ठ्यारो अवस्थामा रहेकाले राजनीतिक स्थिरता र विकासका लागि काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।
‘संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ,’ उनले भने।
कोइरालाले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे।
‘यस्ता गठबन्धनहरूले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन। राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा त, हरेक प्रदेशमा आइसकेको छ। हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अप्ठ्यारो हुन्छ । स्टेबल गभर्मेण्ट दिन जरुरी छ,’ उनले भने।
नेता कोइरालाले कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए। त्यसकारण प्रदेश सरकार विघटन भए मध्यावधिमा जाने उनको भनाइ छ।







