काठमाडौँ । नेपालले आगामी वैशाख १६ र १७ मा गर्न लागेको ‘तेस्रो लगानी सम्मेलन’ मा भारतीय लगानीकर्ता आकर्षित गर्न नयाँ दिल्लीमा ‘इन्डस्ट्री मिट’ आयोजना गरेको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावास र पिएचडी चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको इन्डस्ट्री मिटमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय व्यापारका लागि नेपाल प्राकृतिक रूपमै उपयुक्त गन्तव्य रहेको बताए ।
त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले लगानी सम्मेलनमा भारतबाट बृहत् सहभागिता हुने अपेक्षा रहेको बताए ।
लगानी सम्मेलनमा प्रमुख नीति निर्माता, उच्च सरकारी अधिकारी, प्रभावशाली व्यापारीदेखि विश्वव्यापी वित्तीय संस्थाहरू सहभागी हुनेछन् । जहाँ लगानी विविधीकरणका अवसर, जलविद्युत्मा आकर्षक आयोजनाका सम्भावना, पर्यटन, कृषि, निर्माण, सहरी विकास लगायतमा बृहत् छलफल हुनेछ ।
त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।
इन्डस्ट्री मिटमा नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरी र रञ्जित रेदेखि भारतीय उद्योगपतिहरू अनिल खेतान, अजय पोद्दार, कमलेश जैन र अनुकूल भटनागर, भारत-नेपाल केन्द्रका सचिव अतुल ठाकुर, क्लास्पका वरिष्ठ निर्देशक ९भारत० विशाल थापालगायत सहभागी थिए ।