काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उत्तरी छिमेकी चीनले नेपालमा राजनीतिक स्थिरता र कम्युनिस्ट पार्टीहरूबीच सहकार्यको चाहना राखेको बताएका छन् ।
चीनको दश दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महासचिव गुरुङले कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि सधैँ तत्पर रहेको उल्लेख गरेका थिए ।
महासचिव गुरुङ नेतृत्वको ३० सदस्यीय टोलीले चीनमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन सहयोग पुग्ने महासचिव गुरुङको विश्वास छ ।