काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सरेको छ ।
यसअघि काँग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएकोमा स्थगित गर्दै मंगलबार बिहान ९ बजेका लागि सारेको हो । दलको कार्यालयका अनुसार बैठक सिंहदरवारस्थित दलको कार्यालयमा मंगलबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजेबाट दलको बैठक बस्नेछ ।
सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । त्यसअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न काँग्रेसले दलको बैठक बोलाएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकोमा काँग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ । संसदीय छानबिन समिति गठन नभए सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने काँग्रेसको रणनीति छ ।