काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा ११ जेठमा छलफल हुने भएको छ ।
सहकारीको बचत रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै काँग्रेससहितका विपक्षी दलले संसद् अवरोध गर्दै आएको छ ।
विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको यसअघि तय भएको तालिका प्रभावित भएको छ । १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि जेठ ३, ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल गर्ने तालिका तय भएको थियो । जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो ।
तर, काँग्रेसले लगातार संसद् बैठक अवरोध गर्दै आएको छ । अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत पनि लिएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि यही जेठ ११ गते छलफल हुने जानकारी गराएका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममा सहभागी हुने सांसदलाई एक घण्टा अगावै नाम टिपाउन पनि सभामुख घिमिरेले आग्रह गरेका छन् । नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिनका लागि जेठ ९ गतेसम्मको समय तय गरिएको छ ।
विपक्षी दलहरूको अवरोधले राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ । राष्ट्रिय सभामा पनि जेठ ११ गते नै नीति तथा कार्यक्रममाथि छलफल हुने तय भएको छ ।







