बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापा गाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् ।
विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन् । जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारी खेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । उनले निसीखोला-४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छी पालन कृषि फार्म प्रालि’ सञ्चालन गरिरहेका छन् ।
घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन् । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवी खेतीबारे जानकारी तथा अनुभव हासिल गरेका घर्तीले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवी खेती सुरु गरेका थिए । कृषि व्यवसायमा केही वर्ष बिताएपछि उनी वैदेशिक रोजगारीका लागि जापान गएका थिए । तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए उनी ।
किवी खेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधीकरणमा लागेका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब रु तीन लाख आम्दानी गर्दै आएका छन् । उनले टिमुर खेतीसमेत विस्तार गरेका छन् । हाल एउटा गाई पालेर दूध बिक्री गर्दै आएका उनी व्यावसायिक बङ्गुर पालन सुरु गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसेका छन् ।
कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ । पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको बताउँछन् उनी ।
“कृषिमा मल आवश्यक पर्छ, पशुपालनबाट मल प्राप्त हुन्छ । त्यसैले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने सोच बनाएको छु”, घर्तीले भने, “भारतमा सिकेको कृषि अनुभव र जापान गएर फर्किएपछिको भोगाइलाई अहिले आफ्नै माटोमा प्रयोग गरिरहेको छु ।”
कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन् । उनी निसीखोला गाउँपालिका-४ का वडा सदस्यसमेत हुन । जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा समेत संलग्न घर्ती जनप्रतिनिधि आफैँ उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्छन् ।
वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिरहेका छन् ।







