काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशले समपूरक र सशर्त अनुदान नपाउनुमा प्रधानमन्त्री दोषी रहेको आरोप छन् ।
विश्वासको मत लिन राखेको प्रस्तावमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘समपूरक र सशर्त अनुदानका लागि फाइल बोकेर काठमाडौँ पुगेको थिए ।
प्रधानमन्त्रीलाई बैठकमा ५ पटक भनेको छु । मधेश प्रदेशलाई विभेद नगरी जनसङ्ख्याको आधारमा बजेट पठाउन भनेको थिए । तर प्रधानमन्त्री ज्यूले योजनाको प्रमुख भुटान जानु भएको छ, आएपछि इन्ट्री गर्न लगाउँछु भन्नु भएको थियो ।’
उनले संघ सरकारको इशारामा कर्मचारीले समपूरक र सशर्त अनुदान नपठाएको भन्दै प्रश्न गरे, ‘अब भन्नुस् दोषी मधेशका मुख्यमन्त्री कि संघका प्रधानमन्त्री र मन्त्रीहरू छन् ?’ उनले देशको प्रधानमन्त्रीले नै जुनसुकै बेला उथलपुथल गरिदिन्छु भन्नुहुन्छ भने त्यो देशमा के विकास हुन्छ भन्ने प्रश्न पनि तेर्साए ।
उनले प्रहरी समायोजन र निजामती कर्मचारी ऐनका लागि पटक पटक संघ सरकारको ध्यानाकर्षण गराउँदा काम अगाडी बढेको आश्वासन दिए पनि एक इन्च पनि अगाडी नबढेको बताए । उनले संघले कर्मचारीलाई काम नगर्नकै लागि पठाउने गरेको गुनासो पनि गरे ।
विश्वासको मतको प्रस्ताव गरेको सन्दर्भमा मुख्यमन्त्री यादवले भने, ‘सरकार परिवर्तन भइरहन्छ । आज म छु । भोली अरु आउँछ । हामी अराजक व्यवहार गर्दैनौँ ।’ उनले विश्वासको मत पाउने समय जेष्ठ २८ गतेसम्म रहेपनि कताकता के के गरेर आजै लिनुपर्ने भनेपछि बाध्य भएर लिनुपरेको सुनाए ।







