काठमाडौँ । गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ स्वर्ण जयन्तीको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरेको छ । कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभूति गराउनका लागि कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कोरियाले यो वर्षभरी नै ५०औँ वर्षसम्बन्धी कार्यक्रमहरू गरिरहेको छ । यही सिलसिलामा शुक्रबार हाजिरी जवाफ र कोरिया भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा ४५जनाले सहभागिता जनाएका थिए। हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने धर्मराज लामाले यही वर्ष कोरियामा आयोजना हुने वक्तृत्वकला प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेको राजदूतावासले जनाएको छ ।
हाजिरी जवाफमा भाग लिनका लागि विश्वभाषा क्याम्पसमा कोरियाली भाषा विषय अध्ययनरत विद्यार्थी तथा विभिन्न कोरियाली संस्थामा आबद्ध व्यक्तिहरू सहभागी भएका थिए।दुई देशबीच सम्बन्ध बिस्तारमा युवापुस्ताको भूमिका सम्बन्धी शीर्षकमा वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको थियो ।
यस प्रतियोगितामा १०जना सहभागी भएका थिए । प्रतियोगितामा आरती पौडेलले प्रथम स्थान हासिल गरिन् । सहभागी सबै प्रतियोगी सबैले दूतावासबाट प्रशंसा पत्र प्राप्त गरे । कोरियाली सांस्कृतिक कार्यक्रमले कोरिया(नेपाल दुई देशका नागरिकबीच जनस्तरमा सम्बन्ध विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।