काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले सहकर्मीमाथि हातपात गर्ने वरिष्ठ जीईओ मानबहादुर कुँवरलाई अधिकतम तीन महिनाका लागि निलम्बन गरेको छ ।
गत साता शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा रहेको निगमको कार्यालयभित्र कुँवरले सफाइ शाखा प्रमुख श्यामकृष्ण पालिखेलाई हातपात गरी घाइते बनाएपछि निगम व्यवस्थापनले कुँवरलाई निलम्बन गरेको हो ।
निगमले कुँवरलाई निलम्बन गरिएको पत्रमा भने घटनाबारे उल्लेख छैन । निगम मानव संशाधन विभागका कामु निर्देशक अशोक सिग्देलद्वारा हस्ताक्षरित उक्त पत्रमा ‘नेपाल वायुसेविा निगमका कर्मचारीहरूको सेवा, सर्त सम्बन्धी विनियमावली, २०५८ विपरीत कार्यहरू सम्बन्धमा कुँवर उपर छानबिन गर्नुपर्ने भएको हुँदा ग्राउन्ड सपोर्ट विभागको पत्रबाट जानकारी भएकाले छानबिन समाप्त नहुन्जेल वा बढीमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय भएको छ’ उल्लेख छ ।