रुपन्देही । सरकारी जग्गा संरक्षणलाई प्राथमिकता दिएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अतिक्रमित जग्गा खाली गराउन आफैँ फिल्ड पुग्ने गरेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्वामीले अवैधानिक रूपमा कब्जा गरेको जग्गा प्रजिअ अर्याल आफैँ खटिएर खाली गराएका छन् । प्रशासनले संविधान सभा सदस्यसमेत रहेका गोश्वामीलाई जग्गा खाली गराउन निर्देशन दिँदासमेत अटेर गरेपछि प्रजिअ अर्याल डोजर लिएर पुगेका हुन् ।
गोश्वामीले मसिनामा आफ्नै घरसँग जोडिएको सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरी आफ्नै जग्गासँग गाभेर पोखरी र बगैँचा बनाएका थिए । जग्गा खाली गराउन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि प्रशासनले डोजर लगाएर तारबार भत्काइदिएको हो । तारबार भत्काउन आइतबार अर्यालको नेतृत्वमा सुरक्षा टोली र लुम्बिनी सांस्कृतिक नगरपालिकाको टोली पुगेको थियो ।
गोश्वामीले सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा गृह मन्त्रालय र प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको थियो । गोश्वामीले सार्वजनिक जग्गा अतिक्रमण गरेको पुष्टि भएपछि प्रशासनले डोजर लगाएर तारबार हटाएको हो । जिल्ला प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्राविधिक टोलीले जग्गा नाप जाँच गरी अतिक्रमण भएको प्रतिवेदन बुझाएपछि डोजर चलाइएको हो ।
प्रशासन कार्यालयले साविक मसिना ६ ख कि.नं.४०३ सार्वजनिक जग्गा (दक्षिण तर्फ जाने बाटोको) प्रवेश स्थानमा तारबार लगाई ब्लक गरेको देखिएकोले सो तार वार हटाई उक्त जग्गा सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी बाटोको रूपमा कायम गर्न निर्देशन दिएको थियो । साविक मसिना ६ ख कि.नं.४०३ सँग जोडिएको पूर्व र पश्चिम तर्फको दुवै पोखरी सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको देखिएको हुँदा दुवै तर्फको मिचिएको जग्गा छोडी संलग्न नक्सांकन बमोजिम बाटो कायम गरी अतिक्रमित स्थान खाली गर्न र साविक मसिना ६ ख कि.नं.३१६ संग जोडिएको पोखरीको उत्तर तर्फ तार बारले घेरी वृक्षारोपण गरिएको स्पष्ट रूपमा देखिएकोले उक्त तारबार हटाई सार्वजनिक कायम गर्ने भनेकामा गोश्वामीले नगरेपछि प्रशासन एक्सनमा उत्रिएको हो ।
नगरपालिकाकै साविक मसिना ६ ख कि.नं.४०३ सार्वजनिक बाटोको उत्तर तर्फ निजी पोखरी र दक्षिण तर्फ सार्वजनिक बाटोको भाग समेत पर्ने गरी पोखरी निर्माण गरेको र दक्षिणतर्फ पनि सार्वजनिक जग्गा समेत भित्र पर्ने गरी तारबार गरी अतिक्रमण गरेको देखिएकोले नक्सामा कायम रहेको सार्वजनिक बाटो कायम हुने गरी पोखरी तर्फ तटबन्ध निर्माण गर्ने र दक्षिण तर्फको तारबार हटाउन प्रशासन कार्यालयले निर्देशन दिइएकामा अटेर गरेपछि डोजर चलाएर सार्वजनिक जग्गा खाली गरेको हो ।

प्रजिअ अर्यालका अनुसार गोश्वामीले करिब १५ कट्ठा सार्वजनिक जग्गा अतिक्रमण गरी तारबार गरेका थिए । सार्वजनिक जग्गाबाट तारबार हटाएको उनले बताए । उक्त जग्गामा बोर्ड राखेर संरक्षणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकालाई जिम्मेवारी दिइएको छ । गोश्वामीले अन्य स्थानमा पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी परेकोले प्रशासनले यसबारे थप अध्ययन गर्दै छ ।
त्यसो त प्रमुख जिल्ला अधिकारी अर्यालले गैर कानुनी रूपमा अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन पहल गरिरहेका छन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा, बुटवल उपमहानगरपालिका वडा नं. १७ को रानीगंजमा रहेको सरकारी जग्गा, सिद्धार्थनगर नगरपालिकामा रहेको मृत्यु पश्चात् दाहसंस्कार गर्ने घाट (मसानघाट)को सार्वजनिक जग्गा फिर्ता ल्याउन अर्यालले पहल गरेका थिए ।
‘सार्वजनिक जग्गा संरक्षणमा हामी निर्मम र आक्रामक रूपमा अघि बढेका छौँ,’ उनले भने, ‘प्राप्त भएका सूचना, जानकारी र तथ्यलाई विश्लेषण गरेर प्रशासन अगाडि बढेको छ ।’
सम्बन्धित समाचार: अनधिकृत बोर्ड हटाई सरकारी जग्गा संरक्षण गर्दै रुपन्देही प्रशासन
सम्बन्धित समाचार: मसानघाटको जग्गा व्यक्तिको बनाउनेलाई कारबाही गर्न रुपन्देही प्रजिअ अर्यालको निर्देशन
सम्बन्धित समाचार: विमानस्थल जग्गा प्रकरणमा प्रशासनले हस्तक्षेप नै गरेको हो ः सिडिओ अर्याल