काठमाडौँ । राष्ट्रिय सेवा दलले बिहीबार देखी देशभरका २१ वटा जिल्लामा रहेका ४५ वटा विद्यालयहरूमा अध्ययनरत १ हजार ६ सय २० छात्रछात्राहरूलाई सिनियर डिभिजन (NCC) तालिम सुरु गरेको छ ।
सेवा दलले दुई चरणमा सञ्चालन हुने उक्त तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आर्थिक वर्ष ०८१/८२ मा देश भरका ७७ जिल्लाहरू मध्ये ७५ वटा जिल्लामा रहेका २१४ वटा विद्यालयहरूमा अध्ययनरत ७७०४ जना छात्र छात्राहरूलाई (NCC) तालिम (जुनियर तथा सिनियर डिभिजन) गराउने योजना अनुरूप २०८१ आषाढ १४ गतेबाट १६९ वटा विद्यालयमा अध्ययनरत ६०८४ जना छात्र छात्राहरू समावेश गरी (NCC) जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ ।
उक्त तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान राष्ट्रिय सेवा दलले गर्दै आइरहेको छ ।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ७४,४८० (चौहत्तर हजार चार सय असी) जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरी सकेको छ ।







