काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी उपत्यकामा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ। भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमान ढोका दरबार क्षेत्रमा इन्द्र ध्वजोत्थान गरी इन्द्रजात्रा सुरु भएको थियो ।

नेपालमा इन्द्रजात्राको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व रहेको छ । काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने यो जात्रा इन्द्र देवताको सम्मानमा आयोजना गरिन्छ, जो हिन्दु धर्ममा वर्षा र सम्पूर्ण सृष्टिका देवताको रूपमा पुजिन्छ ।

इन्द्रजात्रा खासगरी काठमाडौँको हनुमान ढोकामा आठ दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन यःसिं (लिङ्गो) ठड्याउने प्रचलन छ, जसलाई इन्द्रको प्रतीक मानिन्छ । यस जात्रामा (कुमारी यात्रा) विशेष आकर्षण हो, जहाँ जीवित देवी कुमारीको रथयात्रा गरिन्छ ।

जात्राका अवसरमा लाखे नाच, दश अवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।







