काठमाडौँ । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ ।
लिमिटेडले आज एक सूचना जारी गर्दै डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको जनाएको हो ।
सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको लिमिटेडको भनाइ छ ।
पछिल्लो समयमा बढ्दै गएको डेङ्गीको सङ्क्रमणलाई ध्यानमा राख्दै सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ बबरमहलमा रहेको बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले पनि आवश्यकता अनुसारको सिटामोल खरिद गर्न सक्नेछन् ।
सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।








