काठमाडौँ । मधेसमा शिक्षाको स्तर खस्किएकामा पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । अब सबै मिलेर यहाँको शिक्षालाई दरिलो बनाउनुपर्ने पनि उनको सुझाव छ ।
राजर्षि विश्वविद्यालयको सातौँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले यस्तो बताएका हुन् । ‘कस्तो विडम्बना छ ! हामी अझै २०२८ सालकै ऐनमाथि टेकेर शिक्षा क्षेत्रमा लागेका हौँ,’ उनले भने, ‘देश र समाज बिगार्नु छ भने त्यहाँको शिक्षा खत्तम पार्नु भन्थ्यो । हो जस्तै लाग्छ ।’
यस्तै जनकपुरस्थित मुख्यालय रहेको राजर्षि जनक विश्वविद्यालयले काँग्रेस नेता विमलेन्द्र निधि, लोसपा अध्यक्ष महन्थ ठाकुर र काँग्रेसका प्रदेश सभा सांसद रामसरोज यादवलाई सम्मान गरेको छ । जनकपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालय स्थापनामा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।
राजर्षि विश्वविद्यालयको सातौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा नेता निधि, ठाकुर र यादवलाई पूर्वराष्ट्रपति यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । ‘प्रतिनिधि सभामा राजर्षि विश्वविद्यालयको कानुन ल्याउन निधि र ठाकुरजीको ठूलो योगदान छ,’ उनले भने, ‘हामीले त पुस मात्र गरेको छ । सबै योगदानको भागिदार उहाँहरू नै हो ।’
काँग्रेस नेता निधिले धेरै मिहिनेत र संघर्षपछि स्थापना भएको राजर्षि विश्वविद्यालयलाई आफ्नै भवन बनाउनका लागि सहयोग गर्न तयार रहेको बताए । लोसपा अध्यक्ष ठाकुरले राजर्षि विश्वविद्यालय स्थापनापछि यसले मिथिलाको संस्कृति, भाषा र पेन्टिङको संरक्षण गर्नुपर्ने बताए ।
२०७४ कात्तिक १२ गते स्थापना भएको राजर्षि जनक मुलुककै कान्छो विश्वविद्यालय हो । स्थापना दिवसमा पूर्वाञ्चल विश्वविद्यालयका उप-कुलपति बिजुकुमार थपलिया, त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्रोफेसर विनयकुमार कुरियतले कि-नोट भाषण गरेका थिए । राजर्षि जनक विश्वविद्यालयका उप-कुलपति प्रा. डा. अमरकुमार यादवले विश्वविद्यालयको अब आफ्नै भवन बन्ने बताए ।