काठमाडौँ । निर्वाचन आयोगले कम्तीमा तीन वटा प्रदेशबाट संघीय सांसद नजिते राष्ट्रिय दलको मान्यता नपाउने कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था राख्ने गरी मस्यौदा भएको छ । संघीय सांसद भनेको प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य दुवै हो । तर, राजनीतिक दल सम्बन्धी ऐनमा राष्ट्रिय दलको मान्यता पाउन कम्तीमा तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्य नै जितेको हुनुपर्ने प्रस्तावित मस्यौदामा छ । प्रतिनिधि सभा सदस्यको चुनाव लकिए लगत्तै राष्ट्रिय दलको मान्यताको विषयमा निर्क्योल हुने भएकाले राष्ट्रिय सभा सदस्यलाई नजोड्ने भनिएको आयोगका अधिकारीहरूले बताए ।
राष्ट्रिय दलको मान्यता पाउने आधारसम्बन्धी व्यवस्था राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनुपर्ने प्रचलित व्यवस्था छ ।
यसलाई बदलेर राष्ट्रिय दलको मान्यता पाउन विभिन्न पाँच आधार हुनुपर्ने भनेर आयोगले मस्यौदा तयार पारेको हो । जहाँ राष्ट्रिय दलको मान्यता पाउन कम्तिमा तीन वटा प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व हुनुपर्ने भनिएको छ ।