काठमाडौँ । राप्रपा नेपालले आइतबार काठमाडौँमा भएको जनप्रदर्शनले चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत गरेको ठहर गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एक हुन आह्वान पनि गरेको छ ।
सो पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा जनतामा देखिएको भावना र चाहनालाई उपेक्षा गर्ने प्रयास गरिए परिस्थिति नियन्त्रण बाहिर जाने उल्लेख गरिएको छ ।
‘सर्वपक्षीय सहमतिको आधारमा सबै बिचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु हुँदैन,’ बैठकका निर्णयमा भनिएको छ, ‘जनताको चाहाना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनेछ ।’
पूर्वराजा शाहले सहयोगका लागि गरेको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेको राप्रपा नेपालको ठहर छ ।
‘राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेका छन् । त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौंमा देखा परेको वृहत् जनप्रदर्शन हो । उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना हुने सुस्पष्ट संकेत गरेको छ,’ बैठकका निर्णयमा भनिएको छ ।
हिन्दूराष्ट्र र राजसंस्थाको पुन:स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना रहेको राप्रपा नेपालले निष्कर्ष निकालेको छ ।
सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्न राप्रपा नेपालले अपिल पनि गरेको छ ।
‘अब केही समयका लागि एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत हामी अनुरोध गर्दछौँ,’ राप्रपा नेपालको निर्णयमा भनिएको छ ।