काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलको विरोध लगत्तै स्थगित भएको छ । पाँचौँ अधिवेशनको १९ औँ बैठक सुरु भए लगत्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरुले उठेर विरोध जनाए ।
सभामुख भीम भण्डारीले पटक पटक बस्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरु बसेनन् । सभामुख भण्डारीले नेकपा एसका नरेश शाहीलाई विषयवस्तु राख्न भनेपछि उनले सरकारको कार्यशैलीबारे टिप्पणी गरे ।
प्रदेश गरिबीको चपेटामा हुँदा सरकारले खर्च कम गर्नुभन्दा बढाउन लागेको शाहीले आरोप लगाए ।
‘हामी गरिबीको चपेटामा छौँ । विभिन्न समस्याले च्यापिएका छौँ । हामी ३४ प्रतिशत गरिबीमा छौँ । २४ दिनसम्म राजस्व उठाउन सकेनौँ । हामीले गरेको कमजोरीले व्यवसायी मारमा परे’, शाहीले भने ।
उनले आम्दानी बढाउनुपर्ने र खर्च कम गर्नुपर्ने अवस्थामा सरकारले नियुक्ति र नीति आयोगमा खर्च बढाउने गरी अगाडि बढेको आरोप लगाए ।
‘हाम्रो आम्दानी वृद्धि गर्नु छ । अनावश्यक खर्च कटौती गर्नुछ । अनावश्यक खर्च कटौती गर्नुको सट्टा सरकारबाट खर्च बढिरहेको छ’, उनले भने, ‘केही सल्लाहकारको पद सृजना गरेर नीति तथा प्रदेश योजना आयोगमा ३ जनाको ठाउँमा पाँच बनाइयो । त्यसमा हाम्रो असहमति छ । प्रदेश स।कारको तर्फबाट अविलम्ब सच्याइनुपर्छ भन्ने हामी माग गर्दछौँ ।’
सभामुखमार्फत सरकारलाई रुलिङ गर्न पनि उनले माग गरे ।
आफ्नो धारणा राखेपछि पनि प्रतिपक्ष दलका सांसदहरु नबसेपछि सभामुखले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेका छन् ।