काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले एमालेले नेतृत्व परिवर्तन गर्न नसके कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जाने टिप्पणी गरेका छन् ।
पार्टीको आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केपी ओलीको पार्टी र सरकार सञ्चालन गर्ने पद्धतिले एमालेलाई ओरालो यात्रामा लगिरहेको बताए ।
ओलीको चिन्तन, तर्क र अर्कासँगको व्यवहार कम्युनिष्ट आन्दोलनको लागि घातक बन्दै गइरहेको उनको भनाइ छ ।
उनले अहिले माओवादीसँग एकता गर्ने पार्टीको कुनै तयारी नभएको पनि प्रस्ट पारे ।
नेता खतिवडाले समाजवादी मोर्चा र पार्टीको कार्यक्रम अलगअलग रूपमा अगाडि बढिरहेको बताए ।