काठमाडौँ । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएका छन् ।
सोमवार नेपाल आइपुगेकी उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा नि:शुल्क उपचार शुरु गरिएको हो । आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो । डा. शर्माले नै उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल एयरलाइन्सको विमानबाट सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी विष्णुको स्वागतका लागि डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सकको टोलीसहित एम्बुलेन्स लिएर विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट उनलाई सिधै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुर्याएर भर्ना गरिएको हो । अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल आइपुगेपछि विष्णुले डा. शर्मालाई आफू कहाँ रहेको भन्दै प्रश्न गरिन् । जवाफमा डा. शर्माले उनी आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको जानकारी गराएका थिए । स्वदेश फर्किएको थाहा पाएपछि उनी भावुक बनिन् ।
विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालबाट डिस्चार्ज नहुँदासम्म आफूले व्यहोर्ने डा। शर्माले बताए । चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा नि:शुल्क उपलब्ध गराइने उनको प्रतिबद्धता छ । आर्थिक अभावकै कारण कुनैपनि बिरामी उपचारबाट वञ्चित हुन नहुने उनको भनाइ छ ।
रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो । आर्थिक समस्याका कारण जापानमा उपचारलाई निरन्तरता दिन र नेपाल फर्किनसमेत कठिनाइ भइरहेको थियो ।
डा. शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा संलग्न छन् । उनले आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई नि:शुल्क उपचार उपलब्ध गराउँदै आएको जनाइएको छ । त्यस्तै, विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत उनी संलग्न रहँदै आएका छन् । ६ महिनादेखि जापानमा उपचाररत विष्णु अहिले स्वदेश फर्किएर परिवारको साथमा थप उपचार गराइरहेकी छन् ।






