काठमाडौँ । नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने बताएका छन् । सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सतर्क बन्नुपर्ने बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेका उनले भने, ‘हामी आत्तिइहाल्नुपर्ने अवस्था छैन, तर सतर्क बन्नुपर्छ, सतर्क हुने भनेको राम्रो काम गर्ने हो ।’
जनताको आकांक्षा धेरै रहेको बताउँदै उनले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको बताए । ‘हामीले के गर्यौँ गरेनौँ भन्ने कुरा महत्त्वपूर्ण हो । केही गरेनौँ भन्ने होइन, धेरै गरेका छौँ,’ उनले भने, ‘जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौँ, तर जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो ।’
राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।
‘बागमतीमा धेरै पानी बगिसक्यो, मलाई चाहिँ लाग्दैन राजा फर्कनुहुन्छ भन्ने,’ के अब राजा आउँछन् त भन्ने प्रश्नमा कोइरालाले भने, ‘तर कोसिस त जहाँ पनि हुन्छ ।’