काठमाडौँ । नेपाली संस्कृति संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन राजधानी पोखरामा ‘२०औँ फेवा नव वर्ष महोत्सव २०८२’ हुने भएको छ ।
३० चैतदेखि १ वैशाखसम्म फेवा किनारको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव चल्ने छ । महोत्सवमा नि:शुल्क प्रवेश व्यवस्था गरिएको होटेल संघ नेपाल (हान) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
नेपाली नयाँ वर्ष उल्लासमय बनाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरी आफ्नो मौलिक संस्कृति रक्षा गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको आरम्भ हुने भएको छ ।
नेपाली खाना प्रदर्शनी र प्रवर्द्धनलाई पनि महोत्सवमा विशेष जोड दिइने भएको छ । महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघ अन्तर्गतका होटलमा २० प्रतिशत छुट दिइने छ ।
अन्य पर्यटन प्रतिष्ठान र व्यवसायीले पनि सक्दो छुट तथा सहुलियत प्रदान गर्नेसमेत हानले जनाएको छ । नेपाली संस्कृति जगेर्ना गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटक बसाइ अवधि लम्ब्याइ आर्थिक चलायमान बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।
महोत्सवकै प्रचार–प्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा हालै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरेको थियो । संघले ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’ र ‘मधुमास पोखरा’ जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।







