काठमाडौँ । गुल्मी अस्पतालको नवनिर्मित भवनबाट यसै महिनाभित्र प्रशासनिक, बहिरंग (ओपीडी) र आकस्मिकलगायतका सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्पतालको नयाँ भवनमा सामान स्थानान्तरण सुरु भएको जानकारी दिएका हुन्। उनका अनुसार भवनबाट सबै सेवा चरणबद्ध रूपमा सञ्चालन गर्ने योजना छ।
मन्त्री लम्सालले गत साउनको अन्तिम साता स्थलगत निरीक्षण गर्दा अस्पताल भवन निर्माणमा ढिलाइ भएको पाइएको बताएका छन्। त्यसबेला निर्माण कार्यको अवस्था हेरेर ठेक्का रद्द गरी नयाँ बोलपत्र प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उनको भनाइ छ।
उक्त निर्देशनपछि मन्त्रालयबाट नियमित रूपमा निर्माण कार्यको अनुगमन गरिएको र अहिले भवन अस्पताल सञ्चालन गर्न सकिने अवस्थामा पुगेको मन्त्री लम्सालले उल्लेख गरेका छन्।
भवनमा आवश्यक सामग्री सार्ने काम सुरु भएसँगै अस्पतालका प्रशासनिक तथा उपचारसम्बन्धी सेवा नयाँ संरचनामा स्थानान्तरण गर्ने तयारी अघि बढेको हो।
मन्त्री लम्सालले भवन सञ्चालनको तयारीमा पुगेको जानकारी दिँदै सहरी विकास तथा भवन निर्माण विभाग (डीयूडीबीसी)को टोलीलाई बधाईसमेत दिएका छन्।






