काठमाडौँ । नेकपा (एमाले)ले चैत २९ गते शुक्रवार बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा ५० हजार जनता उतार्ने दाबी गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम बुटवल मण्डपभित्र गरिने भएको छ ।
एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जागरण सभामा केन्द्रित गरिएको जानकारी दिए ।
उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए ।
मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्त्वहरू सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको उनले बताए । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरूले अराजक गतिविधि बढाइएको उनको दाबी छ ।
एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनसभा सफल पार्न प्रचार संयन्त्रलाई प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गरिएको बताए ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले नागरिकमा नकारात्मक भ्रम फैलाएर स्वार्थको रोटी सेक्ने कोसिस भइरहेको भन्दै यसलाई चिर्न र पछिल्ला दिनमा लोकतन्त्र विरोधी गतिविधि हुन थालेको भन्दै त्यसका विरुद्ध जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए ।
उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए ।