काठमाडौँ । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्रा सुरु भएको छ। बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै सुरु भएको हो।
काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ।
जात्रा अन्तर्गत ग:हिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिंगो उभ्याइन्छ भने साँझपख: तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिंगो उभ्याइन्छ। बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिने परम्परा रहेको स्थानीय अनन्त: धौबडेलले बताए।
बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। जात्राको अन्तिम दिन भैरवनाथ र भद्रकालीको रथलाई ग:हिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्रांगणमा पुर्याई जात्रा सम्पन्न गरिन्छ।