काठमाडौँ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् ।
वेस्टमिनिसटरमा भएको भेटमा राजदूत घिमिरेले बेलायती संसदको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए ।
राजदूत घिमिरेले नेपालको संसद समावेशी भएको स्मरण गराउँदै नेपालको संसदमा बेलायत लक्षित सर्वदलीय संसदीय समिति गठन गरिएको जानकारी दिएका थिए । उनले सभामुख होयलसमक्ष नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति पनि आभार व्यक्त गरे ।
बेलायत र नेपाल दुई देशबीच दुई शताब्दी बढीको आत्मीय र सौहार्दपूर्ण सम्बन्ध स्मरण गर्दै राजदूतले उच्चस्तरीय भ्रमण र आदानप्रदानको महत्त्वमा जोड दिएका थिए ।
उनले नेपाललाई बेलायतबाट निरन्तर र अझ बढी सहयोगको आवश्यकतामाथि पनि प्रकाश पारेको दूतावासले जनाएको छ ।
राजदूतले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धि आकांक्षा पूरा गर्न र २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडीसी)बाट ग्राजुएसनपछिको प्रगतिलाई दिगो बनाउन तथा बाँकी रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा पनि गरेका थिए ।
उक्त भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावना व्यक्त गरे ।
सभामुख होयलले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा सहयोग प्रदान गरिरहने विश्वास पनि व्यक्त गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।