काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गोरखाली नेता चन्द्रप्रसाद न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको पहिलो स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै दिवङ्गत न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अनुकरणीय रहेको बताए ।
“प्रजातन्त्र पुन:स्थापना, लोकतन्त्रको सबलीकरणका लागि नेपाली काँग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह र जनआन्दोलनमा सक्रियरुपले सहभागी हुनुभएका न्यौपानेले पटकपटक जेल जीवन बिताउनुभयो”, सभापति देउवाले भने, “पञ्चायको कठिन घडीमा पनि पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जिल्लाको विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिनुभयो ।”
सभापति देउवाले पार्टी प्रतिबन्धित रहेको अवस्थामा २०२४ सालमै पार्टी जिल्ला कार्यसमिति सदस्य रहेका न्यौपानेले प्रजातन्त्र पुन:स्थापनापछि लामो समयसम्म महासमिति सदस्यसहित विभिन्न भूमिकामा रहेको स्मरण गरे ।