काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल-नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् ।
विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भू-धरातलका कारण सवारीसाधन केही समय बन्द गराएर विस्तारको काम भइरहेको छ ।
सवारी आवागमन रोकेर काम गर्दा यात्रुले सास्ती खेप्नुपरेको गुनासो समेत आउने गरेको छ । तर, सकेसम्म कम समस्या हुने गरी समय व्यवस्थापन गरेर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार भइरहेको सडकको उक्त खण्डलाई प्राथमिकतासाथ निर्माणको काम अघि बढाइएको आयोजनाको भनाइ छ ।
दाउन्ने क्षेत्रको निरीक्षण क्रममा मन्त्री दाहालले सवारीसाधन तथा यात्रुलाई सकेसम्म कम समस्या हुने गरी निर्माणलाई गति दिन निर्देशन दिए । झरी पर्ने सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै उनले वर्षायाम अघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन उनको निर्देशन छ ।
सडक विस्तार तथा निर्माणको कार्य गरिरहेको एडीबी आयोजनाले उक्त जटिल सडक खण्डलाई परम्परागत भन्दा फरक शैलीबाट द्रुत र दिगो बनाउने गरी काम भइरहेको जनाएको छ ।
आयोजना निर्देशक चुडाराज ढकालले उक्त स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्र भन्दा ढलान प्रविधि उपयुक्त हुने बताए । सोही कारण त्यस खण्डमा जतिसक्दो छिटो सडक ढलान गरी सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको उनले बताए ।