काठमाडौँ । रौतहट, झापा र बाँकेमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
रौतहटका बौधीमाई नगरपालिका-५ कोप्वा बस्ने धर्मेन्द्र जैसवालको घरको अण्डर ग्राउण्ड गोदाममा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा गोदाममा रहेको कपडा, चप्पल, मोटरसाइकल १ तथा अण्डर ग्राउण्ड गोदाम घर समेत पूर्णरूपमा जलेर करिब १ करोड ७६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, रौतहटमै गौर नगरपालिका-४ कबिर चोक बस्ने कृष्णनन्दन पेटलको घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैगरी रौतहट, इशनाथ नगरपालिका-३ बस्ने रामाकान्त साहको घरको भान्सा कोठामा शुक्रबार राति आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यता झापा, बिर्तामोड नगरपालिका-२ चैतुबारीस्थित लक्ष्मी श्रेष्ठले संचालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने ड्रायर मेसिन तातेर शुक्रबार राति आगलागी हुँदा प्लाई सुकाउने मेसिन जलेर करिब ९० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँकेमा पनि राप्तीसोनारी गाउँपालिका(६ गुलरी सामुदायिक वनस्थित नेपालगंज अगैया
हुलाकी सडकमा नेपालगंजबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा करेन्ट सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
अहिले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस घटनालाई आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।







