काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाडौँ टावर) मा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले नक्सा पासदेखि कसरी अनियमितता भयो भन्ने आफ्नो दाबी उल्लेख गरेका छन् । उनले महानगरलाई १ अर्बभन्दा बढीको आर्थिक क्षति हुन सक्ने र ठेकेदारलाई अर्बौँको फाइदा पुग्ने दाबी पनि गरेका छन् । यो प्रक्रियामा कर्मचारी, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतो भएको हुन सक्ने प्रमुख साहको आरोप छ ।
वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन हुनुपर्नेमा बेवास्ता गरेर अवैधानिक किसिमले नक्सा पास गरिएको उनले उल्लेख गरेका छन् ।