काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मातातीर्थ औँसीका दिन आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताएका छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीमा मनाइने आमाको मुख हेर्ने पर्वका दिन बिहान उनले आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका हुन्।
चार वर्षको उमेरमा आमा गुमाएका ओलीले आमाको न्यानो काखको अभावमा जन्मभूमि नै आफ्नो लागि आमाको प्रतिरूप बनेको उल्लेख गरे। ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज माता तीर्थ औँसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु।’
ओलीले आमालाई पृथ्वीको प्रत्यक्ष स्वरूपको रूपमा चित्रण गर्दै सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ होस् भन्ने कामना गरे। ‘आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्,’ उनले भने।