काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यस्तो घोषणा गरेको हो ।
नयाँ ब्रान्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन् ।
खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएको कम्पनीले जनाएको छ ।
सम्झौतामा वर्ल्डलिंकका तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव नेपालले हस्ताक्षर गरेका छन् ।
नेपालमा पहिलो पटक एउटै कम्पनीले एकैसाथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको हो, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।
समारोहमा कार्यकारी निर्देशक अग्रवालले किक्रेटरलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
यस सहकार्यले ब्रान्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायसँग सम्बन्ध अझ गाढा बनाउने उनको भनाइ छ ।
यस्तै सिइओ नेपालले वर्ल्डलिंकले खेलकुदलाई समर्थन गर्दै आएको बताए ।
यो सहकार्य केवल ब्रान्ड प्रवर्द्धन नभएर जनताको भावना र गौरवसँग जोडिएको उनले बताएका छन् ।
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभर १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्याउँदै आएको यस कम्पनीले उच्च गतिको ब्रोडब्यान्ड र व्यावसायिक सेवा ७७ जिल्लामा प्रदान गर्दै आएको छ ।