काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवाका रिक्त पदमा कर्मचारी पदपूर्ति गर्ने तयारी गरेको छ। बैंकले दरखास्त आह्वानसम्बन्धी विस्तृत सूचना प्रकाशन गर्ने जानकारी गराएको हो।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयस्थित मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २२ गते जारी गरेको विशेष सूचनाअनुसार बैंकमा रिक्त रहेका प्रशासन तथा प्राविधिक सेवाका पदपूर्तिका लागि दरखास्त आह्वान गरिनेछ।
बैंकले आगामी कात्तिक २७ गते आफ्नो आधिकारिक वेबसाइट, इन्ट्रानेट तथा सूचना पाटीमार्फत दरखास्त आह्वानसम्बन्धी सूचना सार्वजनिक गर्ने जनाएको छ।
सोही सूचनाका आधारमा इच्छुक तथा योग्य उम्मेदवारले विद्युतीय माध्यमबाट दरखास्त फाराम भर्न सक्नेछन्।
बैंकले कात्तिक २७ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन नहुने भएकाले उक्त दिनको सूचना कात्तिक २८ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन गर्ने व्यवस्था मिलाएको जनाएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वारा जारी सूचनामा सरोकारवाला सबैको जानकारीका लागि उक्त व्यवस्था सार्वजनिक गरिएको उल्लेख छ।
पदपूर्तिका लागि आवश्यक कर्मचारी संख्या, पद, तह, योग्यता, आवेदन शुल्क तथा दरखास्त दिने अन्तिम मितिलगायतका विस्तृत विवरण भने कात्तिक २७ गते प्रकाशित हुने सूचनाबाट स्पष्ट हुनेछन्।






