काठमाडौँ । मन्त्रीहरूलाई आफ्नो मातहतका निकायमा कति कर्मचारी छन् भन्ने कुरासमेत जानकारी नहुनु आश्चर्यजनक छ। विशेष गरी, सम्बन्धित क्षेत्रको विज्ञता त परै जाओस्, नेपाल कृषि अनुसन्धान परिषद्जस्तो महत्त्वपूर्ण संस्थामा कार्यरत वैज्ञानिकहरूको सङ्ख्याबारे समेत कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी अनभिज्ञ देखिएका छन्।
प्रतिनिधि सभाको सोमबार बिहान ११:०० बजेको बैठकमा सांसद प्रेम सुवालले नेपालमा कृषि वैज्ञानिकहरूको सङ्ख्या र उनीहरूलाई विदेश पठाइएको विषयमा प्रश्न उठाएका थिए। सांसद सुवालको प्रश्न थियो, “नेपालमा कृषि वैज्ञानिकहरूको सङ्ख्या कति छ ? सरकारले कृषि वैज्ञानिकहरूलाई नेपालमा सेवा गर्न नदिई विदेश पठाइरहेको भन्ने कुरा सार्वजनिक भएको छ, यो सत्य हो कि होइन ?”
जवाफमा मन्त्री अधिकारीले भने, “मैले यहाँहरूको बीचमा सङ्ख्या एकिन गरेर ल्याएको छैन, त्यसैले सङ्ख्या भन्न सकिनँ। धन्यवाद।” उनले नेपाल कृषि अनुसन्धान परिषद्मा रहेका वैज्ञानिकहरूको सङ्ख्या मात्र होइन, कति वैज्ञानिकहरू कुन देशमा अध्ययनका लागि गएका छन् र उनीहरू कति समयदेखि फर्किएका छैनन् भन्ने प्रश्नको पनि स्पष्ट जवाफ दिन सकेनन्। उनको जवाफ थियो, “नेपाल कृषि अनुसन्धान परिषद्मा रहेका केही वैज्ञानिकहरू अध्ययनका लागि विदेश गएका छन्। १०–१२ जना वैज्ञानिकहरू बाहिर छन्, लामो समयदेखि फर्किएका छैनन्।”
मन्त्री अधिकारीले आफ्नो मातहतको नेपाल कृषि अनुसन्धान परिषद्जस्तो महत्त्वपूर्ण निकायमा कार्यरत वैज्ञानिकहरूको सङ्ख्या र उनीहरूको अवस्थाबारे जानकारी नराख्नुले मन्त्रालयको काम गराई र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ।
कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, र यसमा वैज्ञानिकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। मन्त्रीको यो अनभिज्ञताले नीतिगत र व्यवस्थापकीय कमजोरीलाई मात्र उजागर गरेको छैन, जिम्मेवारीप्रतिको उदासीनतालाई समेत प्रष्ट पारेको छ।







