काठमाडौँ। विभिन्न देशका नागरिकहरूलाई ह्वाटसप र इन्स्टाग्राम मार्फत सम्पर्कमा ल्याई अनलाइन डेटिङ साइटको प्रयोग गरी हारजित हुने तवरले व्यावसायिक रूपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न १७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
जुवा भइरहेको भन्ने विशेष सूचना पछि प्रहरीको टोलीले ललितपुर मनपा २६ जैनखेल भ्यु टावर स्थित घर र ललितपुर मनपा १० नख्खु स्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्नहरू ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिकहरूलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट ल्यापटप तथा मोबाइलहरू बरामद गरेको छ । सोही ल्यापटप र मोबाइलहरूबाट प्रारम्भिक अनुसन्धान गर्दा ८१ करोड ४७ लाख ५७ हजार चार सय छयालिस रुपैयाँ बरावरको जुवा कारोबार गरेको देखिएको प्रहरीको भनाई छ ।







