काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरू उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन् ।
खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने बताएका हुन् ।
खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्म सम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगिने उनको भनाइ छ ।
आज राजधानीमा पूर्वाधार पत्रकार समाजले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसदिशा तर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने बताए ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जेजस्ता समस्या रहँदै आएका थिए ती समस्यालाई हदसम्मै पूरा गरिएको समेत उल्लेख गरे । केही महत्त्वपूर्ण सुधारका प्रयास बजेटमा गरिएकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरूको अभाव हुन दिँदैनौ । वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौँ । नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौँ । खानी जन्य, नदिजन्य वस्तुहरू अभाव भएका कारण निर्माण जन्य प्रभावित हुन पर्दैन । अब बजेटमा राखिएको कार्यक्रमबाट पछि हट्दैनौ ।’
तीन करोडभन्दा तलका आयोजनाहरू अब कसैले पनि बजेटमा राख्न हिम्मत नगर्ने बताउँदै पौडेलले अहिलेको बजेट अनुशासनका हिसाबले यो महत्त्वपूर्ण डिपार्चर रहेको दाबी गरे ।
अर्थमन्त्री पौडेकाअनुसार साना आयोजनाहरू कटौतीमा परेका छन् । ‘चालु आव मा सम्पन्न हुने दायित्व सिर्जना भएका भने कटौतीमा परेका छैनन् । खुद्रे आयोजनाहरू लामोसमय रहँदैन, ’उनले भने ।







