काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन्।
शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको सालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन्।
राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको उनले स्मरण गरे। उनले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे।
त्यस्तै काँग्रेस नेता विमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे। उनले संसद्लाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे।
भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनको भनाई छ। त्यस्तै निधिले नेपालमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको धारणा राखे।







