काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको छलफलपछि काँग्रेस नेताहरू एमालेसँगको छलफलमा पुगेका छन् ।
प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा निरन्तर माओवादीसँग छलफल गरेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले मध्यमार्गी प्रस्तावबारे एमालेसँग छलफल सुरु गरेका हुन् ।
भिजिट भिसा प्रकरणले प्रवेश पाएसँगै प्रतिनिधि सभाको बैठक यही जेठ १३ गते देखि सौहार्द बन्न सकिरहेको छैन । आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा काँग्रेसको प्रस्ताव अनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि काँग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका हुन् ।
काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले एमालेका नेताहरूसँग संवाद गरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बनाउने विषय काँग्रेसले अगाडि सारेको हो ।
त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भए/नभएको हेर्ने गरी कार्यक्षेत्र तोक्ने गरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको हो ।







