काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएकी छिन् ।
संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौँमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलब्ध गराउने अनुदानमै निर्भर रहेको बताइन् ।
‘आफ्नै राजश्वबाट स्रोत उठाउने कुरा अझै पनि धेरै पालिकामा कमजोर छ । नेपालको संविधानले बहाल कर एकल रूपमै स्थानीय तहलाई दिएको छ,’ उपमेयर डंगोलले भनिन्, ‘तर संस्थागत बहाल करलाई आयकरका रूपमा संघीय सरकारले लिइरहेको छ । जसकारण स्थानीय तहको राजश्वको स्रोतलाई असर पारिरहेको छ ।’
साथै उनले पालिका सरकारहरूको क्षमता बढाउन नसकिएको स्वीकार गरिन् । स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नवीकरणदेखि खारेजीसम्मको अधिकार दिएको छ ।
तर स्थानीय सरकारले यी अधिकार पूर्ण रूपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलको गुनासो थियो ।







