काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सम्बन्ध परम्परागत र संवादमार्फत सबल बन्दै गएको बताएकी छन् ।
परराष्ट्र मन्त्रालयद्वारा आज राजधानीमा आयोजित चौथो प्राध्यापक डा यदुनाथ खनाल लेक्चर शृङ्खलामा उनले लामो परम्परागत छिमेकी नेपाल चीनले दौत्य सम्बन्धलाई गत साता दशकमा पञ्चशीलका आधारमा व्यवस्थित र आधुनिक हिसाबले अघि बढाएको बताइन् ।
चीन र नेपालले एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र एक चीन नीतिलाई पूर्ण रूपमा पालन गर्दै समृद्धि प्राप्तिका लागि निकट सहकार्य गरिरहेको भनाइ पनि उनको थियो ।
चीन नेपालको वैदेशिक सहायताको ठुलो स्रोत भएको बताउँदै उनले नेपाल र चीनबीच सम्पन्न बिआरआइ सम्झौताले नेपालको विकासलाई गति प्रदान गर्ने पनि बताइन् ।
“दुई देशबीच हवाई र जनस्तरका सम्बन्धको विस्तार तथा अन्य क्षेत्रमा थप गहिरो सहकार्य बढाउने सहमति भएको छ, यसबाहेक डिजिटल पूर्वाधारमा सहकार्यसमेत गरिँदै छ ।” नेपालका चीनले छोटो समयमा गरिबी निवारणमा गरेको प्रगति अनुकरणीय रहेको पनि उनले बताइन् ।
कार्यक्रमका मुख्य विषयमा वक्ताले मामिलाविद् डा. जयराज आचार्यले चीनको बढ्दो सम्पन्नता र विश्व रंगमञ्चमा चीनको बढ्दो प्रभावबाट लाभ लिने हो भने कुशल कूटनीतिक दक्षताका साथ काम गर्नुपर्ने बताइन् ।
“यसलाई इन्टरनेटमा प्राप्त हुने सूचनाको भर परेर हुँदैन इतिहास देखिका पुस्तक र दस्तावेजको अध्ययन गरी चिनियाँ मानसिकता बुझ्नुपर्छ”, उनको भनाइ थियो ।
नेपाल-चीन सम्बन्धका बारेमा प्रख्यात विद्धान तथा कूटनीतिज्ञ यदुनाथ खनालले भनेजस्तै चिनियाँ यथार्थवादी रहेको र उनीहरुसँगको व्यवहार दुई देशको परम्परागत सम्बन्धका साथै वर्तमान समयको यथार्थको आलोकमा हुनुपर्ने धारणा थियो । चीनसँगको सम्बन्धलाई सन्तुलनमा अघि बढाउनुपर्ने विचार राख्दै उनले त्यसोगर्दा अरू छिमेकीलाई विश्वासमा लिएर जानुपर्ने भनाइ उनको थियो ।
त्यस्तै अर्का मुख्य विषय वक्ता चिनियाँ परराष्ट्रविद् प्राध्यापक याङ्ग छेनछिले चीनको वर्तमान नेतृत्वले विश्वका सबै देशको सुरक्षा र विकासको नीति अघि सारिरहेको बताए । नेपालसँगको युगौँ लामो सम्बन्ध चीनको सदैव प्राथमिकतामा रहेको बताउँदै उनले नेपालको आर्थिक विकासका हरप्रयासमा सघाउन तथा आर्थिक वृद्धिमा सहकार्य गर्न चीन तत्पर रहेको उनको भनाइ थियो ।







