काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन्।
शनिबार उनले प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपालमा संविधान निर्माण गर्दा राजीखुशीले संघीयता स्वीकार नगरिएको बताए।
प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उनको जिकिर छ। राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्नेमा उनले जोड दिए। आफू संघीय प्रणालीको विरोधी नभएको तर संघीयता नेपालमा सम्भव नरहेको स्पष्ट पारे।
‘मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयता विरोधी हो रे। म किन हुने संघीयता विरोधी ? नेपालमा संघीयता सम्भव छैन। यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो ?,’ उनले भने।







