लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि लमजुङको प्रदेश अस्पताललाई प्राथमिकतामा राख्ने बताएका छन् । बेँसीसहर नगरपालिका-८ स्थित अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई ३० कात्तिकमा सम्बोधन गर्दै उनले अस्पतालको आवश्यकता र बिरामीको चापलाई ध्यानमा राखेर बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए ।
मुख्यमन्त्री पाण्डेका अनुसार लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष ६९ करोड रुपैयाँको योजना अघि सारिए पनि बजेट विनियोजन हुन सकेको थिएन । कुल योजना लागतको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव भने प्रदेश मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको उनले जानकारी दिए ।
लमजुङ, दमौली र स्याङ्जाका अस्पतालको भवन निर्माणका लागि करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने पाण्डेले बताए । प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण तीनवटै अस्पतालका लागि एकै पटक आवश्यक रकम छुट्याउन कठिन रहेको उनको भनाइ थियो ।
पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लाका १४ अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा शय्या सङ्ख्या २५० बाट ८५० पुर्याइएको र त्यसअनुसार स्वास्थ्यकर्मीसहित अन्य जनशक्ति थपिँदै गएको उनले बताए ।
प्रदेशमा डायलाइसिस सेवाको प्रतीक्षामा रहेका ८२१ जनालाई सेवा उपलब्ध गराएर प्रतीक्षा सूची शून्यमा झार्ने लक्ष्यसहित काम भइरहेको पाण्डेले जानकारी दिए । ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन आवश्यकताअनुसार करारमा नियुक्त स्वास्थ्यकर्मी परिचालन भइरहेको उनले बताए ।






