काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन आवेदन खुला गरेको छ ।
आयोगले ३० कात्तिक (आज) विज्ञापन प्रकाशित गर्दै तोकिएको न्यूनतम योग्यता पूरा गरेका र आवश्यक तालिम लिएका इच्छुक व्यक्तिलाई अनलाइन दरखास्त दिन आह्वान गरेको हो ।
आवेदकले दरखास्तमा व्यक्तिगत विवरण भर्नुका साथै आयोगले तोकेका कागजात पेस गर्नुपर्नेछ । दस्तुर बुझाइसकेपछि पेस गरिएका कागजात सच्याउन, थप्न वा हटाउन नमिल्ने भएकाले दरखास्त बुझाउनुअघि विवरण र कागजात रुजु गर्न आयोगले आग्रह गरेको छ ।
परीक्षाको नतिजा प्रकाशन हुँदासम्म पनि प्रमाणपत्र रुजु गर्ने क्रममा पेस गरिएका कागजातमा फरक विवरण वा कैफियत भेटिए सम्बन्धित दरखास्त रद्द गरिने आयोगले जनाएको छ ।








