काठमाडौँ । विशेष अदालतले ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् ।
विशेष अदालतका सदस्यहरू तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरू दुबैजनालाई ६र६ महिना कैद सजाय फैसला गरेको हो । अब दुबैजनाले डेढ/डेढ लाख रुपैयाँ जरिबाना बुझाउनुपर्नेछ ।
उनीहरूले घुस लिएको रकम समेत जफत हुने फैसला भएको विशेष अदालतले जनाएको छ ।
विशेष अदालतले दुबैजनाबाट ६/६ हजार रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ ।
एक शिक्षकको पेन्सनपट्टा बनाउने क्रममा शाखा अधिकृत प्रसाईंले क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरेर ३ लाख रुपैयाँ घुस लिएका थिए । विशेष अदालतले धनेश्वरले घुस लिएको ठहर गर्दै न्यौपानेलाई पनि उनले घुस लिने काममा प्रयोग गरेको निष्कर्ष निकालेको छ ।
त्यो घटनामा घुस माग्न सहजीकरण गरेको आरोप खेपेकी कार्यालय सहयोगी भवानी अधिकारीलाई भने विशेष अदालतले सफाई दिएको छ ।
कार्यालय सहयोगी कर्मचारीले पेन्सनपट्टा बनाउने काममा कुनै हैसियत नराख्ने भन्दै विशेष अदालतले ‘उनको ओहोदासँग सम्बन्धित काम नभएको’ भन्ने आधारमा सफाई दिएको हो ।







