कार्यालयमा स्वीकृत १० दरबन्दीमध्ये पाँच पद रिक्त छन्, एक कर्मचारी अध्ययनका लागि विदेशमा छन्।
काठमाडौँ । हाल देशभरका सरकारी तथा गैरसरकारी निकायहरूमा कर्मचारीको अभाव देखिएको छ। सम्बन्धित कार्यालयहरूमा आवश्यकताअनुसार कर्मचारी नियुक्ति हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको सेवाग्राहीहरूको गुनासो छ।
तनहुँको बन्दीपुरमा रहेको व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ जिल्लामा फैलिएको छ। तर, उक्त कार्यालयमा हाल कार्यरत कर्मचारीको संख्या जम्मा पाँच जना मात्र रहेको छ।
उक्त केन्द्रमा १० जनाको स्वीकृत दरबन्दी रहेको भए पनि हालसम्म पाँच पद खाली छन्। कार्यरत पाँच कर्मचारीमध्ये पनि एक जना अध्ययनको सिलसिलामा विदेशमा रहेका छन्। कार्यालयका निमित्त प्रमुख विजय राज पौडेलका अनुसार कर्मचारी संख्या न्यून भएकाले काममा असहजता भएको छ।
उनका अनुसार हाल कार्यालयमा एक जना वरिष्ठ बाली संरक्षण अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना प्राविधिक सहायक, एक जना नायब प्राविधिक सहायक, र एक जना कार्यालय सहयोगी कार्यरत छन्। तर, कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक, र हलुका सवारी चालक पद भने हालसम्म पूर्ति हुन सकेका छैनन्। “११ वटा जिल्ला कार्यक्षेत्र हुँदा पर्याप्त जनशक्ति नहुँदा सोचेजस्तो काम गर्न सकिएको छैन,” पौडेलले बताए।
केन्द्रको मुख्य कार्य क्षेत्रहरू रेशमखेती, मौरी पालन, र च्याउ खेती हुन्। यी विषयमा प्राविधिक सहयोग प्रदान गर्नु कार्यालयको प्रमुख दायित्व हो। यसका लागि कार्यालयले किसानहरूलाई मौरी पालन र च्याउ खेती सम्बन्धी सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ।
पौडेलका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले १३१ रेशम बिज कोया उत्पादन गरेको छ, जसलाई रेशम विकास केन्द्र, खोपासीमा हस्तान्तरण गरिएको छ। साथै, कार्यालयको च्याउ प्रयोगशालामा ३,००० पोका च्याउ बीउ उत्पादन गरिएको थियो, जसलाई विभिन्न जिल्लाका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो।
उनले थप जानकारी दिँदै भने, “कार्यालय परिसरमै हामीले झन्डै १०० केजी खायन च्याउ उत्पादन गरेका छौँ, जुन कार्यालयबाटै बिक्री गरिएको हो।”
यसबाहेक, चालू आवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११० जना कृषकलाई मौरी पालनसम्बन्धी आधारभूत स्थलगत घुम्ती तालिम, तथा १८३ जना कृषकलाई च्याउ खेती सम्बन्धी तालिम दिइएको उनले जानकारी दिए।







