काठमाडौँ। बुटवलको ऐतिहासिक पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा एकै वर्षमा साढे ५ लाख पर्यटक भित्रिएका छन् जसमध्ये पौने लाख भारतीय रहेका छन् ।
इतिहास, संस्कृति र प्रकृतिसँगै समेटिएको बुटवल–२, फूलबारीस्थित मणि मुकुन्द सेन उद्यानमा आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख ४७ हजार १ सय ९९ जना पर्यटकले भ्रमण गरेकामध्ये ७४ हजार ५ सय ९२ जना भारतीय नागरिक रहेका छन् । जसमा ७१ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् ।
उद्यान संरक्षण समितिका अध्यक्ष माधव प्रसाद नेपालले अध्ययन केन्द्रका रूपमा उद्यानलाई विकास गर्ने योजना रहेको र पछिल्लो समय भारतीय पर्यटकहरू रुचिका साथ आइरहेको बताए ।
विगतका वर्षहरूमा भन्दा भारतीय पर्यटकहरू तथा अध्ययन अवलोकन गर्न आउने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको हुँदा पनि यसको आन्तरिक व्यवस्थापनमा आफूहरूले जोड दिएको उनको भनाइ छ ।
उद्यानमा रहेको सेन वंशीय भग्नावशेष दरबारलाई संरक्षणसँगै दरबार सङ्ग्रहालय निर्माणको लागि यो वर्ष ३ करोड बजेट संघीय सरकारबाट विनियोजन भएको उनले बताए । यसै गरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरेको उनले बताए ।
उद्यानमा नर्सरी उत्पादनलाई व्यावसायिक बनाउँदै, दरबार क्षेत्रको संरक्षण, बगैँचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेस्टुरेन्ट, सिसाको पुल, जिप लाइनजस्ता संरचनाहरू निर्माणको समेत अध्ययन र तयारी भइरहेको उनले बताए ।
मुनामदन बगैँचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, एक्युरियम, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा मिडिया सहकार्य तथा रिसर्च फेलोसिप कार्यक्रम सञ्चालन जस्ता योजना अघि सारेको उनले बताए ।







