काठमाडौँ । विश्वका सात महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा संलग्न रहेका नेपाली पर्वतारोही, रामेछापका प्रकाशराज पाण्डेले ओसिनिया क्षेत्रमा पर्ने इण्डोनेसियाको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) सफलतापूर्वक आरोहण गरेका छन् ।
उनले स्थानीय समयअनुसार आइतबार बिहान ९:३० बजे शिखर आरोहण गरेका हुन् । सफल आरोहणपछि केही समयअघि मात्र बेसक्याम्पमा आइपुगेका पाण्डेले आज र भोलि सोही बेसक्याम्पमै रहने जानकारी दिएका छन् ।
पर्वत आरोहणको तयारीका लागि पाण्डे सोमबार काठमाडौँबाट प्रस्थान गरेका थिए । मलेसिया हुँदै इण्डोनेसियाको राजधानी जकार्तामा पुगेका उनी अगस्ट १४ मा हेलिकप्टरमार्फत ४ हजार ३ सय मिटर उचाइमा रहेको येलो भ्याली बेसक्याम्प पुगेका थिए ।
त्यहाँ पुगेर आवश्यक तालिम र अनुकूलन पूरा गरेपछि अगस्ट १६ मा पूर्ण प्राविधिक आरोहण सुरु गरी आज बिहान शिखरमा सफलतापूर्वक पुगेका हुन् ।








